‘देशमा कोही सुरक्षित छैनन्, सांसद पनि असुरक्षित छन्’ : हर्क साम्पाङ

User Image Prime TV News एक महिना अगाडि
Image of ‘देशमा कोही सुरक्षित छैनन्, सांसद पनि असुरक्षित छन्’ : हर्क साम्पाङ

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा नागरिकदेखि जनप्रतिनिधिसम्म कोही पनि सुरक्षित नरहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले सरकार जनताको सुरक्षा, न्याय र आधारभूत सेवा सुनिश्चित गर्न असफल भएको आरोप लगाए। देशको वर्तमान अवस्थाले आफूलाई ‘कस्तो देशमा छौँ?’ भन्ने प्रश्न गर्न बाध्य बनाएको उनको भनाइ थियो।

‘जुन देशमा सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा छैन, त्यहाँ नागरिक कसरी सुरक्षित हुन्छन्?’ भन्दै उनले अहिलेको अवस्थाप्रति असन्तुष्टि जनाए। उनका अनुसार नागरिक मात्रै नभई सांसदहरूले समेत आफूलाई असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

देशका विभिन्न ठाउँमा झैझगडा, आगजनी र धम्कीका घटना भइरहे पनि उजुरी तथा रिपोर्ट गर्दा प्रभावकारी कारबाही हुन नसकेको साम्पाङले बताए। यात्रा गर्दा समेत असुरक्षित महसुस गर्नुपर्ने अवस्था रहेको उनको दाबी थियो।

साम्पाङले सरकार जनताको समस्या बुझ्न सडकमा पुग्नुपर्नेमा मन्त्रालय र सुविधासम्पन्न कार्यालयमै सीमित भएको आरोप लगाए। माइतीघरमा लामो समयदेखि धर्नामा बसेका नागरिकको अवस्थाबारे सरकार संवेदनशील बन्नुपर्ने उनको भनाइ थियो।

‘मन्त्रीहरू सडकमा गएर जनताको अवस्था बुझ्नुपर्छ। मन्त्रालयको एसीको हावा खाएर मात्रै देशको वास्तविकता थाहा हुँदैन,’ उनले भने। जनताको दैनिक जीवनसँग जोडिएका समस्याप्रति सरकार गम्भीर नभएको भन्दै उनले ग्यासको लाइनमा घण्टौँ बस्ने नागरिकको पीडा सरकारले बुझ्नुपर्ने बताए। सुविधासम्पन्न गाडी र कार्यालयमा बसेर जनताको दुःख महसुस गर्न नसकिने उनको टिप्पणी थियो।

साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति पनि प्रश्न उठाए। प्रधानमन्त्रीको लापरवाही र गैरजिम्मेवारीका कारण देशमा समस्या बढ्दै गएको आरोप लगाउँदै उनले विपक्षी दल र नागरिकसँग मात्रै नभई आफ्नै सरकारका मन्त्रीहरूसँग समेत प्रभावकारी समन्वय गर्न नसकेको दाबी गरे।

सरकारले नागरिकको सुरक्षा, न्याय र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनको माग छ।