तीन दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । लगातार तीन कारोबार दिन घटेको सेयर बजार परिसूचक नेप्से मंगलबार भने सामान्य सुधार भएको छ ।
मंगलबार नेप्से ०.७९ अंकले उकालो लाग्दै २ हजार ६४१.८५ विन्दुमा पुगेको हो। कारोबारका क्रममा बजारमा ठूलो उतारचढाव नदेखिए पनि ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा भने सुधार आएको छ।
मंगलबार ३४० कम्पनीका सेयर कारोबार भएका छन्। तीमध्ये १३३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको मूल्य घटेको छ। २० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। यस दिन ९५ लाख ३४ हजार २२१ कित्ता सेयर ५२ हजार ७३ पटकको कारोबारबाट कुल ४ अर्ब ११ करोड ९ लाख ७५ हजार रुपैयाँ बराबरमा किनबेच भएका छन्।
यो कारोबार रकम अघिल्लो दिन सोमबारको तुलनामा करिब १२ प्रतिशत बढी हो। मंगलबार सूचीकृत समूहगत परिसूचकमा मिश्रित अवस्था देखिएको छ। वाणिज्य बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा र अन्य समूहका परिसूचक बढेका छन्।
समूहमध्ये होटल तथा पर्यटन क्षेत्रको परिसूचक सबैभन्दा धेरै ०.५० प्रतिशतले बढेको छ। यसको विपरीत विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहका परिसूचक घटेका छन्। व्यापार समूहको परिसूचक सर्वाधिक ०.७७ प्रतिशतले ओरालो लागेको छ।
मंगलबार अपर लोहोरे खोला हाइड्रोपावर, राष्ट्रिय वाणिज्य बैंकको डिबेन्चर, लक्ष्मी उन्नति कोष, हिम स्टार ऊर्जा तथा अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ता बढी लाभमा रहे। यता महिला लघुवित्त वित्तीय संस्था, प्राइम डिबेन्चर, सप्तकोसी डेभलपमेन्ट बैंक, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र गणपति लघुवित्तका लगानीकर्ताले बढी गुमाएका छन्।
कारोबार रकमका आधारमा मंगलबार सोलु हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४४ करोड ८७ लाख ६० हजार ५९० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार भएको सेयर संख्याका आधारमा भने रिडी पावर कम्पनी अगाडि छ।
कम्पनीको ८ लाख ८९ हजार ८८६ कित्ता सेयर मंगलबार किनबेच भएको छ। लगातारको गिरावटपछि नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकममा वृद्धि हुनुका बाबजुद बजारको समग्र दिशा भने अझै मिश्रित देखिएको छ।







