धवलशम्शेर–दुर्गा प्रसाईको नयाँ पार्टी दर्ता अन्योलमा, वरियताको बिषयलाई लिएर विवाद
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राप्रपाबाट अलग्गिएका डा. धवलशम्शेर राणा र अभियन्ता दुर्गा प्रसाई मिलेर गठन गर्न लागेको नयाँ पार्टी औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता नहुँदै आन्तरिक विवादमा फसेको दाबी गरिएको छ।
लामो समयको छलफलपछि दुई पक्षले नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ राख्ने घोषणा गरेका थिए। राणालाई पार्टी अध्यक्ष र प्रसाईलाई सर्वोच्च नेताको जिम्मेवारी दिने समझदारी बनेको बताइएको थियो। यही साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारीसमेत गरिएको थियो।
तर निर्धारित मितिमा पार्टी दर्ता नहुने भएको छ। प्रसाईले सामाजिक सञ्जालमार्फत पार्टी गठन तथा दर्ताका लागि आवश्यक तयारी पूरा नभएकाले दर्ताको मिति केही समय पछि सारिएको जानकारी दिएका छन्।
प्रसाईले पार्टीको संगठनात्मक संरचना तथा अन्य विषयमा आन्तरिक छलफल जारी रहेकाले तत्काल दर्ता गर्न नसकिएको बताएका छन्। सम्पूर्ण तयारी पूरा भएपछि नयाँ मिति र आवश्यक जानकारी सार्वजनिक गरिने उनको भनाइ छ।
तर राणा पक्षका नेताहरू भने पार्टी दर्ताको मिति सर्नुको कारण तयारी मात्र नभएको दाबी गर्छन्। दुई पक्षबीच पहिले भएका सहमतिमा समेत नयाँ सर्त थपिन थालेपछि समस्या उत्पन्न भएको उनीहरूको भनाइ छ।
राणा पक्षका एक नेताका अनुसार प्रसाईले पार्टीमा आफूले पहिलो वरियता पाउनुपर्ने धारणा राख्न थालेका छन्। जबकि यसअघि प्रसाईलाई ‘सर्वोच्च नेता’को जिम्मेवारी दिने र राणापछि वरियतामा रहने समझदारी भएको उनको दाबी छ।
‘पहिले नै उहाँले धवलशम्शेरलाई अभिभावक मानेर आफूले कुनै वरियता नखोज्ने बताउनुभएको थियो। अहिले फेरि पहिलो वरियताको विषय उठाइएको छ,’ ती नेताले भने। त्यस्तै, आगामी निर्वाचनपछि प्रसाईँलाई पार्टीको संसदीय दलको नेता बनाउने समझदारी भए पनि निर्वाचनमा उम्मेदवारको टिकट वितरणमा प्रसाईँको समेत हस्ताक्षर अनिवार्य हुनुपर्ने नयाँ सर्त अघि सारिएको राणा पक्षको दाबी छ।
राणा पक्षका ती नेताले नयाँ–नयाँ सर्त थपिँदै गए पार्टी एकताको प्रक्रियामै असर पर्न सक्ने चेतावनी दिएका छन्। यता, प्रसाईँ पक्षले भने दुई नेताबीच विवाद उत्पन्न भएको भन्ने दाबी अस्वीकार गरेको छ। प्रसाईँ पक्षका नेता माधव निर्दोषले एकता प्रक्रियामा कुनै दरार नआएको र पार्टी गठनको काम निरन्तर अघि बढिरहेको बताए।
‘विवादको हल्ला मात्रै हो। एकता प्रक्रिया जारी छ। आज पनि कार्यदलको बैठक बसिरहेको छ,’ उनले भने। साउन २८ गते पार्टी दर्ता गर्ने भनिएको कार्यक्रम किन सारियो भन्ने प्रश्नमा निर्दोषले भने ज्योतिषीहरूको सुझाव अनुसार उक्त दिन उपयुक्त साइत नदेखिएकाले दर्ताको कार्यक्रम पछि सारिएको हो।
नयाँ पार्टी औपचारिक रूपमा घोषणा भए पनि नेतृत्वको वरियता, उम्मेदवार छनोट र संगठनात्मक संरचनालगायत विषयमा दुई पक्षबीच देखिएको भनिएको मतभेदले पार्टी गठन प्रक्रिया कति सहज रूपमा अघि बढ्छ भन्नेमा भने प्रश्न उठेको छ।







