गगन–शेखर भेट : कांग्रेसको आन्तरिक विवाद समाधानमा छलफल, सहमति जुटेन

User Image Prime TV News एक महिना अगाडि
Image of गगन–शेखर भेट : कांग्रेसको आन्तरिक विवाद समाधानमा छलफल, सहमति जुटेन

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार बिहान भेटवार्ता भएको छ।

पार्टीभित्र चर्किएको आन्तरिक विवाद समाधान गर्ने विषयमा केन्द्रित रहेर दुई नेताबीच छलफल भएको हो। डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेट करिब ४० मिनेट चलेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। 

भेटमा कांग्रेसभित्र पछिल्लो समय देखिएका सांगठनिक तथा नीतिगत विवादबारे छलफल भएको थियो। पार्टीभित्र देखिएको असहमतिलाई कसरी समाधान गर्ने र संगठनलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा दुवै नेताले आ–आफ्ना धारणा राखेका थिए।

तर छलफलबाट तत्काल कुनै ठोस सहमति भने जुट्न सकेन। दुवै पक्षले आफ्ना अडान र धारणा प्रस्तुत गरे पनि विवाद समाधानको साझा बिन्दुमा पुग्न नसकेको थपलियाले बताए। कांग्रेसभित्र पार्टीको वैधानिकता, नेतृत्व र आगामी राजनीतिक दिशालाई लिएर राजनीतिक तथा कानुनी बहस भइरहेका बेला थापा र कोइरालाबीच भेटवार्ता भएको हो।

पार्टीभित्रको विवाद थप नचर्कियोस् र कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन सकियोस् भन्ने उद्देश्यले संवाद सुरु गरिएको बताइएको छ। यद्यपि, पहिलो चरणको वार्ताबाट सहमति नजुटेपछि अब दुई पक्षबीच थप छलफल आवश्यक देखिएको छ।