एमाले–नेकपा प्रदेश सरकारमा सहकार्य : मन्त्रालय बाँडफाँटमा ‘पालैपालो’ मोडल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रदेश सरकार गठनसम्बन्धी यसअघि भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न निर्देशन जारी गरेका छन्।
दुई दलले प्रदेश सरकार गठनसँगै मन्त्रालय बाँडफाँटको मोडलसमेत तय गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रूपमा जारी गरेको निर्देशनमा प्रदेशसभामा दलहरूको सिट संख्यालाई मन्त्रालय बाँडफाँटको मुख्य आधार बनाउने उल्लेख छ।
सहमति अनुसार मुख्यमन्त्री र सभामुखले पाउने जिम्मेवारीलाई पनि प्रदेशको समग्र राजनीतिक शक्ति सन्तुलनमा गणना गरिनेछ। दुई दलबीच भएको सहमतिअनुसार मन्त्रालय बाँडफाँट गर्दा पालैपालो मन्त्रालय छनोट गर्ने व्यवस्था लागू हुनेछ।
पहिलो मन्त्रालय छनोट गर्ने अधिकार मुख्यमन्त्रीको जिम्मेवारी नलिने दललाई दिइनेछ। त्यसपछि दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनोट गर्नेछ। यही क्रम दोहोर्याउँदै सबै मन्त्रालय बाँडफाँट गरिनेछ। एमाले र नेकपाको सहकार्यबाट मात्रै सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने प्रदेशमा भने तेस्रो दललाई सरकारमा सहभागी गराउँदा आपसी समझदारीमा मन्त्रालय बाँडफाँट गरिनेछ।
तेस्रो दललाई मन्त्रालय दिएपछि बाँकी मन्त्रालयको हकमा भने दुई दलबीच तय भएको पालैपालो छनोट प्रणालीलाई निरन्तरता दिइनेछ। दुई दलले प्रदेश सरकार सञ्चालनका लागि न्यूनतम साझा प्रतिबद्धता तयार गरी सार्वजनिक गर्ने भएका छन्। प्रदेशमा राजनीतिक स्थिरता कायम गर्ने, सुशासन प्रवर्द्धन गर्ने, समृद्धि हासिल गर्ने तथा प्रादेशिक विकासको गति तीव्र बनाउने विषयलाई साझा प्रतिबद्धताको प्राथमिकतामा राखिनेछ।
सहमति कार्यान्वयनसम्बन्धी निर्देशनमा संघीयताको प्रवर्द्धनलाई समेत प्राथमिकता दिइएको छ। प्रदेश सरकारले यही साझा प्रतिबद्धताका आधारमा आफ्ना काम अघि बढाउने उल्लेख गरिएको छ। एमाले र नेकपाले आपसी समझदारीलाई थप बलियो बनाउँदै राजनीतिक सहकार्यलाई दिगो बनाउने उद्देश्यले प्रदेश सरकार गठन, मन्त्रालय बाँडफाँट तथा सरकार सञ्चालनका अन्य काम अघि बढाउने जनाएका छन्।
दुई दलबीचको सहकार्यले प्रदेश सरकारमा शक्ति सन्तुलन व्यवस्थापनसँगै सरकार सञ्चालनका प्राथमिकता पनि साझा रूपमा तय गर्ने आधार तयार गरेको छ।








