मोदीको तर्फबाट प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो : भारतीय विदेश मन्त्रालय

User Image Prime TV News एक महिना अगाडि
Image of मोदीको तर्फबाट प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो : भारतीय विदेश मन्त्रालय

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि निम्तो दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेकै बेला प्रधानमन्त्री मोदीका तर्फबाट भ्रमणको निम्तो दिइएको बताएका हुन्। नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र प्रधानमन्त्री शाहबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल भएको पनि जैसवालले जानकारी दिए।

प्रधानमन्त्री शाहको भारत भ्रमण कहिले हुने भन्ने प्रश्नमा भने जैसवालले आफूलाई मिति प्राप्त भएपछि जानकारी गराउने बताए। उनले भ्रमणको सम्भावित मितिबारे तत्काल कुनै विवरण सार्वजनिक गरेनन्। पत्रकार सम्मेलनमा भारतीय पत्रकारहरूले नेपाल–भारत सम्बन्धसँग जोडिएका विभिन्न विषयमा प्रश्न गरेका थिए।

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको भेट, भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमणको सम्भावना तथा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सुगौली सन्धिको सक्कली प्रति नेपालमा भए/नभएकोबारे दिएको अभिव्यक्तिबारे प्रश्न गरिएको थियो।

यस्तै, ब्रिक्स सम्मेलनमा नेपालसहित विभिन्न देशका प्रधानमन्त्रीको सहभागिताका विषयमा पनि भारतीय विदेश मन्त्रालयसँग प्रश्न गरिएको थियो। तर जैसवालले यी प्रश्नमा स्पष्ट विवरण भने दिएनन्।ब्रिक्स सम्मेलनका क्रममा भारतले क्षेत्रीय संगठनका प्रतिनिधि तथा विभिन्न नेताहरूलाई निमन्त्रणा गर्ने तयारी गरिरहेको जैसवालले बताए।

‘हामीले क्षेत्रीय गठबन्धनबाट धेरै नेताहरूलाई निम्ता दिएका छौँ,’ उनले भने, ‘यस विषयमा थप अपडेट गराउँदै जानेछौँ।’

नेपाल–भारतबीच केही विषयमा मतभिन्नता वा असहमति रहे पनि दुई देशबीचको सम्बन्ध समग्रमा राम्रो रहेको जैसवालको भनाइ थियो। उनले द्विपक्षीय विषयमा छलफल र समस्या समाधानका लागि दुवै देशबीच विभिन्न संयन्त्र सक्रिय रहेको बताए। ‘कुनै विषयमा सहमति नबने पनि जुनसुकै विषयमा द्विपक्षीय वार्ता गर्ने संयन्त्र छन्। नेपाल र भारतको सम्बन्ध राम्रो छ,’ जैसवालले भने।

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइएको पुष्टि भए पनि भ्रमणको मिति, विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण तथा ब्रिक्स सम्मेलनमा नेपालको सहभागिताबारे भने भारतीय पक्षले तत्काल स्पष्ट जानकारी दिएको छैन।