क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले गरे विवाह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेज विवाह बन्धनमा बाँधिएका छन्।
उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा आयोजित निजी नागरिक समारोहमा विवाह गरेको पिपल म्यागजिनले जनाएको छ। विवाहपछि रोनाल्डो र जर्जिनाले सामाजिक सञ्जालमार्फत विवाहको खुसी साझा गरेका छन्।
दुवैले हातमाथि हात राखेको र विवाहको औँठी लगाएको तस्वीर सार्वजनिक गरेका छन्। रोनाल्डो र जर्जिना सन् २०१६ देखि प्रेम सम्बन्धमा थिए।
रोनाल्डो रियल मड्रिडबाट खेलिरहेका बेला जर्जिना मड्रिडस्थित गुच्चीको स्टोरमा काम गर्थिन्। जर्जिनाले यसअघि भोगसँगको अन्तर्वार्तामा पहिलो भेटमै आफूहरूबीच विशेष सम्बन्ध स्थापित भएको बताएकी थिइन्।
करिब एक दशक लामो सम्बन्धका क्रममा उनीहरूले पाँच सन्तानसहितको परिवार बनाएका छन्। सन् २०२२ मा भने उनीहरूले नवजात छोरालाई गुमाएका थिए।
रोनाल्डोले गत नोभेम्बरमा पियर्स मोर्गनसँगको अन्तर्वार्तामा विश्वकपपछि विवाह गर्ने संकेत गरेका थिए। त्यतिबेला उनले हाँस्दै आफूहरूले विश्वकपको ट्रफीसहित विवाह गर्ने योजना बनाएको बताएका थिए।
तर २०२६ को विश्वकपमा पोर्चुगल स्पेनसँग अन्तिम १६ को खेलमा पराजित भएपछि उनको विश्वकप करिअर समाप्त भएको अनुमान गरिएको छ। विश्वकपमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि रोनाल्डोले लगातार छ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेर नयाँ कीर्तिमान बनाएका थिए।
४१ वर्षीय रोनाल्डो विश्वकै चर्चित फुटबलरमध्ये एक हुन्। उनी पाँच पटक बालोन डी’ओर जितिसकेका छन्। सामाजिक सञ्जालमा पनि उनको ठूलो लोकप्रियता छ।
३२ वर्षीया जर्जिना मोडल तथा सामाजिक सञ्जाल प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्। रोनाल्डोसँग सम्बन्धमा आएपछि उनको अन्तर्राष्ट्रिय लोकप्रियता अझ बढेको छ। उनी पछिल्ला दुई मेट गाला कार्यक्रममा समेत सहभागी भएकी छन्।
जर्जिनाले सन् २०२५ अगस्टमा रोनाल्डोसँग इन्गेजमेन्ट भएको सार्वजनिक गरेकी थिइन्। उनले औँलामा लगाएको ठूलो हिराको औँठीको तस्वीर सार्वजनिक गर्दै इन्गेजमेन्टबारे जानकारी दिएकी थिइन्। उक्त हिरा करिब ३० देखि ४० क्यारेटको रहेको र यसको मूल्य ५० लाखदेखि १ करोड ५० लाख अमेरिकी डलरसम्म हुन सक्ने अनुमान गरिएको थियो।
रोनाल्डोका अनुसार जर्जिनाले ठूलो हिराको औँठी पाउने सपना देखेकी थिइन्। आफ्ना छोरी अलाना र इभासामु औँठी दिँदा छोरीहरूले नै आफूलाई विवाहको प्रस्ताव राख्न लागेको हो भनेर सोधेपछि त्यही क्षण जर्जिनालाई विवाहको प्रस्ताव गरेको रोनाल्डोले बताएका थिए।
उनले घुँडा टेकेर औपचारिक रूपमा प्रस्ताव गर्नसमेत बिर्सिएको बताएका थिए। रोनाल्डोका अनुसार त्यो क्षण योजनाबद्ध नभई स्वाभाविक रूपमा आएको थियो।
जर्जिनालाई ठूलो समारोह मन नपर्ने भएकाले उनको चाहनाअनुसार विवाहलाई निजी राखिएको रोनाल्डोले बताएका छन्। उनका लागि विवाह सम्बन्धमा ठूलो परिवर्तन नभई जीवनको अर्को सुन्दर अध्याय हो।
रोनाल्डो र जर्जिनाको विवाहसँगै करिब एक दशक लामो प्रेम सम्बन्ध औपचारिक वैवाहिक सम्बन्धमा परिणत भएको छ।







