इरानतर्फ जाँदै गरेको आरोपमा अमेरिकी सेनाले कार्गो जहाजमा मिसाइल प्रहार गर्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । इरानतर्फ अघि बढेको आरोपमा अमेरिकी सेनाले पानामा झण्डावाहक कार्गो जहाज ‘भेला नोभा’ माथि दुईवटा हेलफायर मिसाइल प्रहार गरेको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार जहाजले पटक–पटक दिइएको चेतावनी बेवास्ता गर्दै ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ अघि बढेपछि कारबाही गरिएको हो।
अमेरिकी नौसेनाको एमएच–६० हेलिकोप्टरबाट प्रहार गरिएका दुई मिसाइल जहाजको इन्जिन कक्षमा लागेका थिए। त्यसबाट जहाजको स्टियरिङ प्रणाली निष्क्रिय भएको सेन्टकमले जनाएको छ। जहाज अब इरानतर्फ अघि बढ्न नसक्ने अमेरिकी सेनाको भनाइ छ।
उपलब्ध पछिल्लो विवरणअनुसार जहाजमा रहेका १७ जना चालक दलका सदस्य सुरक्षित रहेको र मानवीय क्षतिको विवरण नआएको जनाइएको छ।
अमेरिकाले इरानी बन्दरगाहतर्फ जाने समुद्री मार्गमा लगाएको नाकाबन्दी उल्लंघन गर्न खोजेको आरोपमा ‘भेला नोभा’माथि कारबाही गरेको हो।
सेन्टकमका अनुसार मंगलबारसम्म अमेरिकी सेनाले नाकाबन्दी पार गर्न खोजेका ५५ वटा व्यावसायिक जहाजलाई मार्ग परिवर्तन गराएको, तीनवटा गैरअनुपालक जहाजलाई निष्क्रिय बनाएको र दुईवटा जहाजमा प्रवेश गरी नियन्त्रणमा लिएको जनाएको छ।
यो घटना अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहेका बेला भएको हो। दुई देशबीचको वार्ता अझै गतिरोधमा रहेकाले समुद्री क्षेत्रमा तनाव थप बढेको छ।
यसैबीच इरानले अमेरिकाले आफ्नो व्यवहार परिवर्तन नगरेसम्म होर्मुज जलडमरू मध्य नखोल्ने चेतावनी दिएको छ। विश्वको तेल व्यापारको ठूलो हिस्सा ओहोरदोहोर हुने यो जलमार्ग लामो समयदेखि अमेरिका–इरान तनावको प्रमुख केन्द्र बनेको छ।
होर्मुजमा बढ्दो तनावका कारण विश्व बजारमा पनि चिन्ता बढेको छ। जलमार्गमा व्यापारिक जहाजको आवागमन घट्दै गएपछि विश्वव्यापी ऊर्जा आपूर्तिमा थप दबाब पर्न सक्ने जोखिम देखिएको छ।
अमेरिका र इरानबीच युद्ध अन्त्य गराउने प्रयासस्वरूप पाकिस्तानले पनि कूटनीतिक पहल अघि बढाएको छ। पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वी मंगलबार तेहरान पुगेका छन्।
जहाजमाथिको अमेरिकी कारबाही र होर्मुजसम्बन्धी इरानको चेतावनीले युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयासबीच पनि क्षेत्रीय समुद्री सुरक्षा चुनौतीपूर्ण रहेको संकेत गरेको छ।







