आज सात संसदीय समितिको बैठक बस्दै, विभिन्न समसामयिक विषयमा छलफल हुने

User Image Prime TV News एक महिना अगाडि
Image of आज सात संसदीय समितिको बैठक बस्दै, विभिन्न समसामयिक विषयमा छलफल हुने

काठमाडौ । संघीय संसद अन्तर्गत आज सात वटा संसदीय समितिको बैठक बस्दैछ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा तथा स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका, समस्या तथा चुनौती र आयोगका सिफारिस कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ। 

यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३ को प्रतिवेदन पेस गरी छलफल गरिनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा बालगृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमनबाट प्राप्त निष्कर्षबारे छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का विषयमा छलफल गर्ने कार्यसूची छ। बैठक पनि बिहान ११ बजे बस्नेछ।

सार्वजनिक लेखा समितिको बैठक भने दिउँसो १ बजे बस्नेछ। बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता र तिनको कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ।

त्यसैगरी ती निर्णय कार्यान्वयनका लागि नेपाल सरकारले गरेका कामकारबाहीबारे पनि समितिले जानकारी लिनेछ।

बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे सरकारका सम्बन्धित अधिकारीसँग जानकारी लिने कार्यक्रम समेत रहेको छ।