देशभर मनसुनी प्रभाव, विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

User Image Prime TV News एक महिना अगाडि
Image of देशभर मनसुनी प्रभाव, विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ।

हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। मधेस प्रदेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।

कोशी, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहने अनुमान छ।

हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। मधेस प्रदेश तथा कोशी र वाग्मती प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति देशभर सामान्यतया बदली रहनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको अनुमान छ।

महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन तथा पर्वतारोहण गतिविधि प्रभावित हुन सक्ने तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।