आज दुर्लभ खग्रास सूर्यग्रहण, नेपालबाट भने देखिँदैन

User Image Prime TV News एक महिना अगाडि
Image of आज दुर्लभ खग्रास सूर्यग्रहण, नेपालबाट भने देखिँदैन

काठमाडौ । आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ।

यो वर्षको प्रमुख खगोलीय घटनामध्ये एक मानिएको सूर्यग्रहणको पूर्ण अवस्था उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तर एटलान्टिक महासागर, स्पेन र पोर्चुगलको सानो भूभागबाट देखिनेछ।

तर नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश भूभागबाट भने आजको सूर्यग्रहण देखिने छैन। सूर्य, चन्द्रमा र पृथ्वीको विशेष ज्यामितीय अवस्थाका कारण चन्द्रमाको पूर्ण छाया पृथ्वीको सीमित भूभागमा मात्र पर्ने भएकाले नेपाल ग्रहणको दृश्य क्षेत्रभन्दा बाहिर परेको हो।

नासाका अनुसार आजको ग्रहणमा अधिकांश स्थानमा पूर्णताको अवधि दुई मिनेटभन्दा कम रहनेछ। ग्रिनल्यान्ड, रुस वा उत्तर एटलान्टिकको ग्रहण मार्गको मध्यभागनजिक भने पूर्ण ग्रहण दुई मिनेटभन्दा केही बढी, तर साढे दुई मिनेटभन्दा कम रहनेछ।

कहाँबाट देखिन्छ पूर्ण ग्रहण?

ग्रहणको पूर्ण छाया उत्तरी रुसबाट सुरु भएर आर्कटिक क्षेत्र, ग्रिनल्यान्ड र आइसल्यान्ड हुँदै उत्तर एटलान्टिक पार गरेर स्पेनतर्फ अघि बढ्नेछ। स्पेनको लियोन, जारागोजा र भ्यालेन्सियालगायतका सहर पूर्ण ग्रहणको मार्गमा पर्नेछन्।

नासाका अनुसार स्पेनको लियोनमा स्थानीय समय अनुसार साँझ ८ः२८ बजे पूर्ण ग्रहण सुरु भएर करिब दुई मिनेट रहनेछ। आइसल्यान्डको रेक्जाभिकमा भने साँझ ५ः४८ बजेदेखि पूर्ण ग्रहण सुरु हुनेछ।

युरोपका अन्य धेरै भागबाट आंशिक सूर्यग्रहण देखिनेछ। उदाहरणका लागि लन्डनमा सूर्यको करिब ९१ प्रतिशत, पेरिसमा ९२ प्रतिशत, बर्लिनमा ८५ प्रतिशत र बार्सिलोनामा ९९ प्रतिशत भाग चन्द्रमाले ढाक्ने नासाको अनुमान छ।

उत्तर अमेरिका तथा उत्तरपश्चिमी अफ्रिकाका केही भागबाट पनि आंशिक ग्रहण देखिनेछ।

नेपालबाट किन देखिँदैन?

सूर्यग्रहण पृथ्वीका सबै स्थानबाट देखिँदैन। चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यको प्रकाश छेक्दा ग्रहण हुन्छ, तर चन्द्रमाको छाया पृथ्वीको सीमित क्षेत्रमा मात्र पर्छ।

आजको ग्रहणमा पूर्ण छायाको मार्ग उत्तरी गोलार्धको उच्च अक्षांश हुँदै रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तर एटलान्टिक र स्पेनसम्म फैलिएको छ। नेपाल उक्त छायाको मार्गमा नपरेकाले यहाँबाट न पूर्ण न त आंशिक सूर्यग्रहण नै देखिनेछ।

त्यसैले नेपालमा रहेका खगोलप्रेमीले ग्रहणको दृश्य प्रत्यक्ष हेर्न नपाए पनि विश्वसनीय अन्तरिक्ष तथा खगोलीय संस्थाका अनलाइन प्रसारणमार्फत अवलोकन गर्न सक्नेछन्।