चीन भ्रमणमा जाँदै रवि लामिछाने, सीसँग भेटको सम्भावना टर्‍यो

User Image Prime TV News एक महिना अगाडि
Image of चीन भ्रमणमा जाँदै रवि लामिछाने, सीसँग भेटको सम्भावना टर्‍यो

काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी भदौ ७ देखि १४ गतेसम्म चीन भ्रमणमा जाने भएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा लामिछाने पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लागेका हुन्। लामिछानेको आठदिने भ्रमणका क्रममा बेइजिङमा चिनियाँ उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता हुने तयारी छ।

प्रारम्भिक कार्यक्रमअनुसार उनले चीनका उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट गर्ने सम्भावना रहेको बताइएको छ। भ्रमणको पहिलो राजनीतिक भेट सीपीसीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुने जनाइएको छ। 

यसअघि लामिछानेको चीन भ्रमणका क्रममा राष्ट्रपति तथा सीपीसीका महासचिव सी चिनफिङसँग भेट गराउने प्रयास भइरहेको बताइएको थियो। पार्टीका एक उच्च नेताले जुलाईमा चिनियाँ पक्षसँग सीसँग भेटका लागि समन्वय भइरहेको बताएका थिए।

तर अहिले सार्वजनिक भएको प्रारम्भिक कार्यतालिकामा सीसँग भेटको कार्यक्रम समावेश छैन। चिनियाँ प्रोटोकलअनुसार राष्ट्रप्रमुख वा सरकार प्रमुखस्तरका व्यक्तिसँग राष्ट्रपतिको भेटलाई प्राथमिकता दिइने भएकाले लामिछानेको सीसँग भेट हुने सम्भावना न्यून देखिएको स्रोतहरूले बताएका छन्। 

लामिछानेको भ्रमणमा उनकी पत्नी निकिता पौड्यालसहित पाँच सदस्य सहभागी हुने बताइएको छ। बेइजिङ भ्रमणपछि प्रतिनिधिमण्डल तिब्बत हुँदै कैलाश मानसरोवर क्षेत्र जाने कार्यक्रमसमेत रहेको जनाइएको छ।

चीन भ्रमणलाई लामिछानेको भारत भ्रमणपछिको अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय राजनीतिक यात्राका रूपमा हेरिएको छ। गत जेठमा भाजपा निमन्त्रणामा भारत पुगेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए।

रास्वपाका अनुसार चीन भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध, दुई देशका राजनीतिक दलबीचको सहकार्य तथा समसामयिक क्षेत्रीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ। लामिछानेको चीन भ्रमणबारे तयारी केही समयदेखि भइरहेको थियो।

जुलाईमा प्रकाशित विवरण अनुसार त्यतिबेला सी चिनफिङसँग भेटको सम्भावना टुंगो नलाग्दा भ्रमणको मिति र कार्यक्रमबारे पुनः गृहकार्य गरिएको थियो।