सुकेधारामा साउन २९ देखि कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला, देउवाले सम्बोधन गर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of सुकेधारामा साउन २९ देखि कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला, देउवाले सम्बोधन गर्ने

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी साउन २९ गतेदेखि काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ।

समूहले भेलाका लागि पार्टी प्यालेस बुकिङ गरिसकेको जनाएको छ। इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार राष्ट्रिय भेलाको उद्घाटन साउन २९ गते दिउँसो १ बजे हुनेछ। यसअघि बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेका थिए। 

भेला तीन दिनसम्म चल्ने र त्यसमा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने इतर समूहको दाबी छ। समूहले भेलालाई पार्टीभित्रको पछिल्लो विवाद, आगामी राजनीतिक कार्यदिशा र एकताका विषयमा छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा अघि बढाउने तयारी गरेको छ। समूहका नेताहरूले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

भेलामा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख आतिथ्यता गर्ने कार्यक्रम तय भएको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा भेला आयोजना हुन लागेको र देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसनिकट स्रोतले जनाएको छ। 

देउवा बिहीबार दिउँसो करिब साढे १२ बजे थाई एयरवेजको उडानबाट काठमाडौं आइपुग्ने तयारीमा छन्। उनको स्वदेश फर्किने समय यसअघि परिवर्तन भएको थियो। पछिल्लो तालिकाअनुसार साउन २८ गते दिउँसो काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको बताइएको छ।

जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि देउवा गत फागुनमा सिंगापुर गएका थिए। सिंगापुरमा उपचारपछि उनी चैत ७ गते थप उपचार तथा पारिवारिक कार्यक्रमका लागि हङकङ पुगेका थिए। कांग्रेसभित्र विशेष महाधिवेशनपछि बढेको आन्तरिक विवादबीच संस्थापन इतर समूहले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।

समूहले यसअघि सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको जनाएको छ। अब काठमाडौंमा हुने राष्ट्रिय भेलाबाट पार्टी एकता जोगाउने प्रयाससँगै आगामी राजनीतिक तथा सांगठनिक रणनीति तय गर्ने तयारी गरिएको छ। यसैबीच, भेलामा पूर्वमहामन्त्री डा. शशांक कोइराला पनि सहभागी हुने भएका छन्।

कोइरालाको सहभागितालाई इतर समूहले राष्ट्रिय भेलामा व्यापक सहभागिता जुटाउने प्रयासका रूपमा लिएको छ। समूहका नेताहरूले भेला विभाजनका लागि नभई पार्टी एकताका लागि आयोजना गरिएको बताउँदै आएका छन्।