इरानी धम्कीपछि ट्रम्पको गोप्य विमान परिवर्तन, क्याटरिङ ट्रकबाट सैन्य विमानमा पुगे

User Image Prime TV News एक महिना अगाडि
Image of इरानी धम्कीपछि ट्रम्पको गोप्य विमान परिवर्तन, क्याटरिङ ट्रकबाट सैन्य विमानमा पुगे

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा भएको नाटो शिखर सम्मेलनपछि आफ्नो यात्रा सुरक्षाका कारण गोप्य रूपमा परिवर्तन गरिएको पुष्टि गरेका छन्।

इरानबाट सम्भावित आक्रमण वा हत्याको खतरा रहेको भन्दै सुरक्षा निकायको सल्लाहमा आफूले सार्वजनिक रूपमा देखाइएको विमान छाडेर अर्को सैन्य विमान प्रयोग गरेको उनले बताएका छन । रिपोर्टअनुसार, जुलाई ८ मा टर्कीको अंकाराबाट प्रस्थान गर्ने क्रममा ट्रम्पलाई पहिले सञ्चारमाध्यमका क्यामेरासामु विमानमा चढाइएको थियो।

त्यसपछि उनलाई विमानस्थलमा सामान र खाना ओसारपसार गर्न प्रयोग हुने क्याटरिङ ट्रकमार्फत गोप्य रूपमा अर्को स्थानमा लगिएको थियो। त्यहाँबाट उनी अमेरिकी वायुसेनाको सानो सैन्य विमान C-32A मा सवार भएका थिए।

ट्रम्पले पत्रकारहरूसँग आफूले सुरक्षा निकायको निर्देशन पालना गरेको बताएका छन्। उनका अनुसार, आफूलाई कुन विमान प्रयोग गर्ने भन्ने विषयमा सुरक्षा अधिकारीहरूले निर्णय गरेका थिए। उनले आफूलाई निरन्तर धम्की आउने गरेको समेत बताएका छन्। 

पत्रकार र ह्वाइट हाउसका केही कर्मचारीसमेत अनभिज्ञ

गोप्य योजनाअनुसार ट्रम्पलाई लिएर गएको C-32A विमानबारे त्यतिबेला धेरै पत्रकार र ह्वाइट हाउसका केही कर्मचारीलाई समेत जानकारी थिएन। उनीहरूलाई ट्रम्प पुरानै एयरफोर्स वनमा यात्रा गरिरहेका छन् भन्ने लागेको थियो।

उडानका क्रममा पत्रकारहरूलाई विमानका झ्यालका सेड बन्द राख्न भनिएको थियो। पछि ट्रम्पलाई यसबारे सोध्दा उनले आफू सम्भावित खतरनाक उडानमा रहेको हुन सक्ने संकेत गरेका थिए . C-32A विमान ट्रम्पलाई लिएर बेलायतको आरएएफ मिल्डेनहल पुगेपछि पुरानो एयरफोर्स वन पनि त्यहाँ पुगेको थियो। यसरी वास्तविक यात्रा लुकाउँदै ट्रम्पलाई पुनः मूल विमानमा फर्काइएको विवरण सार्वजनिक भएको छ। 

कतारले दिएको बोइङ ७४७-८ माथि पनि सुरक्षा प्रश्न

ट्रम्पको यो यात्रा कतारबाट प्राप्त बोइङ ७४७-८ विमानसँग जोडिएको अर्को विवादका बीच भएको थियो। उक्त विमानलाई राष्ट्रपतिको यात्राका लागि प्रयोग गर्न अमेरिकी पक्षले परिमार्जन गरेको छ। तर पुरानो एयरफोर्स वनमा जस्तै राष्ट्रपति र विमानलाई युद्ध तथा मिसाइल आक्रमणबाट जोगाउने सबै विशेष सुरक्षा क्षमता नयाँ विमानमा छन् कि छैनन् भन्ने विषयमा सुरुदेखि नै प्रश्न उठ्दै आएका छन्। 

यही सुरक्षा चिन्ताका कारण ट्रम्पलाई कतारबाट प्राप्त विमानमा नभई वैकल्पिक सैन्य विमानमा गोप्य रूपमा पठाइएको हो कि भन्ने प्रश्नसमेत उठेको थियो। तर ह्वाइट हाउसले राष्ट्रपतिको सुरक्षामा कुनै सम्झौता नगरिएको बताउँदै आवश्यकताअनुसार विभिन्न सुरक्षा उपाय अपनाउन सकिने स्पष्ट पारेको छ। 

राष्ट्रपतिको यात्रा लुकाउने पुरानै सुरक्षा रणनीति
राष्ट्रपतिलाई सम्भावित आक्रमणबाट जोगाउन उनको वास्तविक यात्रा वा विमान पहिचान लुकाउने रणनीति अमेरिकी राष्ट्रपतीय सुरक्षामा नयाँ भने होइन। विगतमा पनि अमेरिकी राष्ट्रपतिहरूको विदेश भ्रमणका क्रममा डिकॉय विमान वा गोप्य मार्ग प्रयोग गरिएका उदाहरण छन्।

ट्रम्पको पछिल्लो घटनाले भने इरानसँगको तनावबीच अमेरिकी राष्ट्रपतिको व्यक्तिगत सुरक्षालाई लिएर सुरक्षा संयन्त्र कति सतर्क छ भन्ने देखाएको छ। गोप्य रूपमा विमान परिवर्तन गरिएको घटनाले राष्ट्रपति यात्राको सुरक्षा, नयाँ एयरफोर्स वनको क्षमता र सम्भावित विदेशी धम्कीबारे थप बहससमेत जन्माएको छ ।