सरकारले प्रतिबद्धता पूरा नगरेको भन्दै आङ्देम्बेको असन्तुष्टि

User Image Prime TV News एक महिना अगाडि
Image of सरकारले प्रतिबद्धता पूरा नगरेको भन्दै आङ्देम्बेको असन्तुष्टि

काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी विद्रोह र निर्वाचनबाट प्राप्त जनादेशअनुसार गठन भएको बालेन नेतृत्वको सरकारले युवासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले रोजगारी सिर्जना, सुशासन तथा विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकारको कार्यसम्पादनप्रति प्रश्न उठाएका हुन्।

उनले देशमै स्वरोजगार भएका युवा उमेरका गणेश नेपालीदेखि विवेक मण्डलसम्मले गरेको आत्मदाहका घटनालाई युवामा बढ्दै गएको निराशाको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।आङ्देम्बेले सरकारलाई प्रश्न गर्दै भनेका छन्, “जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो? उनीहरूले चाहेको सुशासन कहाँ छ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ?”

उनले निर्वाचनअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिका, क्यानडा र युरोपका विभिन्न मुलुकमा पुगेर सरकार गठन भएको १०० दिनभित्र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने र देशमै रोजगारी सिर्जना गर्ने घोषणा गरेको स्मरण गराएका छन्।

सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एक जना युवालाई समेत स्वदेश फर्काउन नसक्नु गम्भीर प्रश्न भएको आङ्देम्बेको भनाइ छ। चुनावअघि विदेशमा रहेका नेपाली युवालाई लक्षित गर्दै गरिएका प्रतिबद्धता युवाले अझै नबिर्सिएको उनले बताएका छन्।

आङ्देम्बेले युवालाई केवल मतदान गर्ने जनशक्तिका रूपमा नभई राष्ट्र निर्माणको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्। विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई देशको आर्थिक विकासमा उपयोग गर्न ‘रिटर्नी युवा उद्यमशीलता’सम्बन्धी ठोस नीति आवश्यक रहेको उनले बताएका छन्।