शशांक कोइरालाले पूर्णबहादुर खड्कालाई दिए निम्तो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुन पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेलाका संयोजक डा. शशांक कोइरालाले निवासमै पुगेर निमन्त्रणा दिएका छन्।
कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार डा. कोइरालाले खड्कालाई भेलामा सहभागी हुन आग्रह गरेका थिए। निमन्त्रणाप्रति खड्काले सकारात्मक धारणा व्यक्त गरेको तिवारीले जानकारी दिए। कांग्रेसको असन्तुष्ट पक्षले भदौ २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्दैछ।
भेलामा पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। देउवा हाल विदेशमा रहेकाले बिहीबार नेपाल फर्किने तयारीमा छन्। उनलाई विमानस्थलदेखि निवाससम्म पाँच हजार नेता तथा कार्यकर्ताले स्कर्टिङसहित स्वागत गर्ने तयारी गरिएको बताइएको छ। असन्तुष्ट पक्षको राष्ट्रिय भेलालाई कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक असन्तुष्टि र शक्ति समीकरणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।







