ग्यासको आपूर्तिलाई प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माणः मन्त्री गौरीकुमारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यासको आपूर्ति, वितरण र ढुवानीलाई पारदर्शी तथा प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागिएको बताएकी छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिको खाद्य आपूर्तिसम्बन्धी छलफलमा मन्त्री गौरीकुमारीले उपभोक्ताले ग्यासको अवस्थाबारे सहजै जानकारी पाउन सक्ने व्यवस्था गर्न लागिएको जानकारी दिइन्।
उनका अनुसार गुगल फाराममार्फत ग्यासको उपलब्धता तथा वितरणसम्बन्धी विवरण हेर्न सकिने प्रणाली सार्वजनिक गर्ने तयारी भइरहेको छ। ग्यासको आपूर्ति कहाँबाट भइरहेको छ र वितरणको अवस्था कस्तो छ भन्ने जानकारीलाई सहज र पारदर्शी बनाउने उद्देश्यले प्रणाली निर्माण गर्न लागिएको उनको भनाइ छ।
मन्त्री गौरीकुमारीले सिंहदरबारमा २८ साउनदेखि खाद्य स्टल सञ्चालन गरी खाद्यान्न बिक्री वितरण गर्ने तयारी भइरहेको पनि जानकारी दिइन्। यसैबीच, नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दाबी गरेका छन्। उनका अनुसार मंगलबार मात्रै १३४ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन्।
साहले २६ साउनसम्म ३४ लाख ग्यास सिलिन्डर नेपाल भित्रिएको दाबी गर्दै आपूर्ति व्यवस्थामा सुधार भइरहेको बताए। ग्यासको आपूर्ति नियमित हुँदै गएसँगै बजारमा देखिएको अभावसमेत क्रमशः हट्ने निगमको अपेक्षा छ।







