धनुषा जिल्ला अदालत अगाडि महिलाले आत्मदाहको प्रयास

User Image Prime TV News एक महिना अगाडि
Image of धनुषा जिल्ला अदालत अगाडि महिलाले आत्मदाहको प्रयास

जनकपुर । धनुषा जिल्ला अदालतको मुख्य गेट अगाडि बुधबार बिहान एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्।

जनकपुरधाम उपमहानगरपालिका–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्। अदालतमा मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेका बेला पीडितहरूले प्रदर्शन गरिरहेका थिए।

प्रदर्शनका क्रममा अदालतको मुख्य गेट अगाडि पुगेकी रजकले साहलाई कारबाही गर्नुपर्ने माग राख्दै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी प्रहरीले जनाएको छ। शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साहको नेतृत्वमा रहेको टोलीले तत्काल हस्तक्षेप गरी उनलाई उद्धार गरेको थियो।

प्रहरीको समयमै सक्रियताका कारण ठूलो क्षति हुनबाट जोगिएको जनाइएको छ। घटनापछि धनुषा जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।