स्वास्थ्य बीमाको औषधि सूचीमा कटौती, १८७ प्रकारका औषधि हटाइए
Prime TV News एक महिना अगाडि 
काठमाडौ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमितले पाउने औषधिको सूची परिमार्जन गरिएको छ।
स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या १ हजार १०२ मा सीमित गरेको हो। यसअघि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत १ हजार २८९ प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। नयाँ सूचीमा १८७ प्रकारका औषधि हटाइएपछि अब बीमितले १ हजार १०२ प्रकारका औषधि पाउनेछन्।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउन, सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउने औषधिलाई छुट्याउन तथा नेपालमा प्रयोगमा नरहेका औषधि सूचीबाट हटाउन नयाँ व्यवस्था गरिएको हो।
सरकारले स्वास्थ्य संस्थामार्फत निःशुल्क उपलब्ध गराउँदै आएका केही औषधि यसअघि स्वास्थ्य बीमा कार्यक्रमको सूचीमा समेत समावेश थिए। एउटै औषधि दुईवटा सरकारी व्यवस्थाबाट उपलब्ध हुने अवस्था रहेकाले त्यस्तो दोहोरो व्यवस्था हटाइएको बोर्डले जनाएको छ।
त्यस्तै, नेपालमा प्रयोगमा नरहेका तथा नियामक निकायबाट हटाउन सिफारिस भएका केही औषधिलाई समेत नयाँ सूचीबाट हटाइएको छ। बोर्डले गत असार ३० गतेको बैठकबाट नयाँ सुविधा थैली स्वीकृत गरेको थियो। स्वीकृत व्यवस्था साउन ५ गतेदेखि कार्यान्वयनमा आएको हो। औषधिको संख्या घटाइए पनि यसबाट बीमित नागरिकले पाउने उपचार सेवामा ठूलो असर नपर्ने बोर्डको दाबी छ।
हटाइएका औषधिको विकल्पमा प्रयोग गर्न सकिने अन्य औषधि सूचीमै रहेकाले उपचार निरन्तर रहने बोर्डले जनाएको छ। बोर्डका अनुसार नयाँ सूची बनाउँदा उपचारमा आवश्यक औषधिको उपलब्धता कायम राख्दै अनावश्यक दोहोरोपन र प्रयोगमा नरहेका औषधि हटाउने विषयलाई प्राथमिकता दिइएको छ।







