देशभर ग्यास अभावप्रति राष्ट्रिय सभा सदस्यहरूको सरकारसँग जवाफ माग

User Image Prime TV News एक महिना अगाडि
Image of देशभर ग्यास अभावप्रति राष्ट्रिय सभा सदस्यहरूको सरकारसँग जवाफ माग

काठमाडौ । देशभर खाना पकाउने ग्यासको अभाव देखिएको भन्दै राष्ट्रिय सभा सदस्यहरूले सरकारसँग तत्काल समस्या समाधान गर्न माग गरेका छन्।

बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद कमला पन्तले सर्वसाधारणले ग्यास नपाएको गुनासो गरिरहेको र ग्यास लिन लामो लाइन बस्नुपरेको बताइन्। सरकारले ग्यासको अभाव नरहेको दाबी गरे पनि नागरिकले सहज रूपमा ग्यास पाउन नसकेको भन्दै उनले यसबारे सरकारको स्पष्ट जवाफ आउनुपर्ने माग गरिन्।

त्यस्तै, सांसद तुलप्रसाद विश्वकर्माले ग्यास अभावका कारण देशभरका नागरिकले ठूलो कष्ट भोग्नुपरेको बताए। उनले सरकारले समस्याप्रति गम्भीर चासो देखाउँदै तत्काल समाधानको पहल गर्नुपर्नेमा जोड दिए। सांसद नरबहादुर विष्टले पनि सरकारले नागरिकलाई नियमित रूपमा ग्यास कहिलेसम्म उपलब्ध गराउन सक्छ भन्नेबारे स्पष्ट पार्नुपर्ने बताए।

बैठकमा सांसद नारायणदत्त मिश्रले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे। राष्ट्रिय सभा सदस्यहरूले ग्यास आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नागरिकलाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।