रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिने

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूको संसदीय भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले साउन २९ देखि ३१ गतेसम्म तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालका अनुसार ललितपुरको गोदावरीस्थित फरेस्टमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। यसअघि दुईपटक प्रशिक्षण दिइसकिए पनि त्यसबाट आवश्यकताअनुसार पर्याप्त तयारी हुन नसकेकाले तेस्रोपटक कार्यक्रम आयोजना गर्न लागिएको उनले बताइन्।

धितालले सांसदहरूकै सुझाव र आवश्यकतालाई आधार बनाएर प्रशिक्षणको कार्यतालिका तयार गरिने जानकारी दिइन्। पार्टीको नीति तथा संसदमा सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विषयलाई प्रशिक्षणको मुख्य आधार बनाइने उनको भनाइ छ।

‘सिक्ने प्रक्रिया जीवनभर रहिरहन सक्छ। यसपटक सांसदहरूकै सुझाव र आवश्यकताअनुसार प्रशिक्षण कार्यक्रम राखिएको हो,’ धितालले भनिन्, ‘पार्टीको नीति र संसदमा प्रभावकारी भूमिका खेल्नेगरी प्रशिक्षण दिन्छौँ।’ रास्वपाले यसअघि २०८२ साल चैत ३ र ४ गते ललितपुरको होटल टुलिप तथा वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलमा सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो।

पार्टीले आगामी प्रशिक्षणमार्फत सांसदहरूको संसदीय अभ्यास, पार्टी नीति र संसदमा प्रभावकारी प्रस्तुतिलाई थप सुदृढ गर्ने लक्ष्य राखेको जनाएको छ।