लुम्बिनी सरकार गठनका लागि एमाले–नेकपा र मसालबीच दुईबुँदे सहमति

User Image Prime TV News एक महिना अगाडि
Image of लुम्बिनी सरकार गठनका लागि एमाले–नेकपा र मसालबीच दुईबुँदे सहमति

काठमाडौ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय जनमोर्चा निकट नेकपा मसालसँग सहकार्य गर्ने सहमति गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भएको छलफलमा लुम्बिनी प्रदेश सरकार गठनसहित दुई बुँदे सहमति भएको हो।

सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ। यससँगै प्रदेश सरकार निर्माणका लागि एमाले–नेकपा गठबन्धनलाई मसालको समर्थन जुट्ने भएको छ। दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनका विरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।

लुम्बिनी प्रदेशसभामा मसालको एक जना सांसद छन्। ती सांसदको समर्थन एमाले र नेकपा गठबन्धनका लागि सरकार गठनको अंकगणितमा महत्वपूर्ण हुने देखिएको छ। यसअघि विभिन्न प्रदेशमा बहुमत जुटाउन कठिनाइ देखिए पनि लुम्बिनीमा भने मसालसँगको सहमतिले एमाले–नेकपालाई सरकार गठनको बाटो सहज बनाएको छ।

प्रदेश सरकार गठनसँगै विकास निर्माण र राजनीतिक मुद्दामा समेत सहकार्य गर्ने सहमतिले लुम्बिनीमा नयाँ सत्ता समीकरणलाई थप औपचारिकता दिएको छ। एमाले र नेकपाबीच प्रदेश सरकार निर्माणका लागि भएको सहकार्यअन्तर्गत लुम्बिनीमा मसालको समर्थन जुटाउनुलाई गठबन्धनले सरकार गठनको अंकगणित मिलाउने महत्वपूर्ण कदमका रूपमा लिएको छ।