कारोबारको तेस्रो दिन नेप्से झिनो अंकले बढेर बन्द
Prime TV News एक महिना अगाडि काठमाडौ । साताको कारोबारको तेस्रो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक झिनो अंकले बढेर बन्द भएको छ।
कारोबार अवधिको अधिकांश समय दबाबमा रहेको बजार अन्तिम समयमा सुधारिँदै सकारात्मक भएर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स १.३९ अंक, फ्लोट इन्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४८ अंकले बढेको छ।
नेप्से सामान्य बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार ४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा बुधबार ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन ३४८ वटा स्टकको ४३ हजार ९९० पटकको कारोबारमा ८७ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बुधबार माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ४५ रुपैयाँ बढेर ३४५ रुपैयाँ पुगेको छ। मंगलबार नेप्सेमा सूचीकृत भएको कम्पनीको शेयर बुधबारदेखि नियमित कारोबारमा आएको हो। त्यस्तै, इमर्जिङ नेपालको शेयरमूल्य पनि यस दिन ५.५ प्रतिशतभन्दा बढीले बढेको छ।
यता, १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३को मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३१ करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
त्यस्तै, सेन्ट्रल फाइनान्सको करिब २२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ। १३ उपसमूहमध्ये बुधबार पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूह घटेका छन्।
बढ्ने उपसमूहमध्ये लगानी उपसमूह सर्वाधिक २.२१ प्रतिशतले उकालो लागेको छ। बैंकिङ, वित्त, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहमा भने सामान्य वृद्धि देखिएको छ। बजारमा अधिकांश समय बिक्री चाप रहे पनि कारोबारको अन्तिम समयमा खरिदकर्ता हावी भएपछि नेप्से झिनो अंकले सकारात्मक भएर बन्द भएको हो। कारोबार रकममा आएको गिरावटले भने लगानीकर्ताको सक्रियता अघिल्लो दिनको तुलनामा केही घटेको संकेत गरेको छ।







