एलपी ग्यास अभाव तत्काल हटाउन राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ

User Image Prime TV News एक महिना अगाडि
Image of एलपी ग्यास अभाव तत्काल हटाउन राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ

काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव तत्काल हटाउन सरकारलाई रुलिङ गरेका छन्।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा अध्यक्ष दाहालले संसद् र जनस्तरबाट ग्यास अभावबारे व्यापक गुनासो आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। उनले शून्य समय र विशेष समयमा सांसदहरूले ग्यास अभावका कारण सर्वसाधारणले भोग्नुपरेको समस्याबारे निरन्तर आवाज उठाइरहेको उल्लेख गरे।

जनस्तरबाट समेत ग्यासको सहज आपूर्तिका लागि व्यापक गुनासो आइरहेको भन्दै उनले तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएका हुन्। अध्यक्ष दाहालले अत्यावश्यक दैनिक उपभोग्य वस्तुका रूपमा रहेको खाना पकाउने एलपी ग्यासको आपूर्ति र बिक्री वितरण सहज बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए।

उनले बजारमा ग्यासको अभावका कारण सर्वसाधारणले समस्या भोगिरहेको अवस्थामा आपूर्ति प्रणालीलाई प्रभावकारी बनाएर सहज रूपमा ग्यास उपलब्ध गराउन आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभाबाट आएको यो रुलिङसँगै बजारमा देखिएको एलपी ग्यासको अभाव समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने दबाब थपिएको छ।