लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिने

User Image Prime TV News एक महिना अगाडि
Image of लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी १ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

नेपाली कांग्रेसले गत १२ साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको हो  । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी गरिएको छ।

एमाले र नेकपाबीच भएको सत्ता समीकरणअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भइसकेको छ। नयाँ सत्ता समीकरणमा नेकपालाई मन्त्रालय दिने विषयमा भने अन्तिम सहमति हुन बाँकी छ। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारुले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको बताएका छन्।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय छन्। हाल मुख्यमन्त्रीसहित एमालेका पाँच जना र जनता समाजवादी पार्टी नेपालका दुई जना मन्त्री सरकारमा छन्।

बहुमतका लागि ४२ सांसद आवश्यक

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि बहुमत जुटाउन ४२ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्। तर सभामुखले विश्वासको मतको मतदानमा सहभागी हुन नपाउने भएकाले एमाले र नेकपा मिल्दा पनि सरकारसँग ४१ मत मात्रै रहने अवस्था छ।

त्यसैले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत लिन थप एक सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। यसअघि एमाले–नेकपा सत्ता समीकरणलाई सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन नेकपा मसालसँग समेत सहमति भएको छ। लुम्बिनी प्रदेशसभामा मसालका एक सांसद रहेकाले उनको समर्थन मुख्यमन्त्री आचार्यका लागि निर्णायक बन्न सक्ने देखिएको छ।