कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाएका छन्।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिएका हुन्।
सहसचिव ढकालका अनुसार टर्कीका राष्ट्रपति एर्दोगानबाट प्राप्त उक्त निमन्त्रणा परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ। तर, सम्मेलनमा नेपालबाट प्रधानमन्त्री स्वयं सहभागी हुने वा अन्य कुनै तहको प्रतिनिधित्व हुने भन्नेबारे भने निर्णय भइसकेको छैन।
“कुन तहबाट सहभागिता हुने भन्ने विषयमा जानकारी प्राप्त हुन बाँकी छ,” ढकालले समितिको बैठकमा जानकारी दिए। कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ। सम्मेलनमा जलवायु परिवर्तनका असर, उत्सर्जन न्यूनीकरण, जलवायु वित्त तथा जलवायुजन्य जोखिमको सामना गर्ने विषयमा विश्वका राष्ट्रहरूबीच छलफल हुने अपेक्षा गरिएको छ।
नेपालका लागि कोप–३१ जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रमा देखिएका समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रधानमन्त्री शाहको सहभागिता तय भएमा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नेछ।







