एमाले नेतृत्वमाथि पुनर्जागरण अभियानको दबाब, तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेलाई रूपान्तरण र पुनर्संरचनाको बाटोमा अघि बढाउन माग गर्दै ‘पुनर्जागरण अभियान–२०८२’ ले पार्टी नेतृत्वमाथि दबाब बढाएको छ।
अभियानका संयोजक गजेन्द्र थपलियालगायत नेताहरूले बुधबार पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका हुन्।
निर्वाचनपछि बदलिएको राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अभियानले पार्टीको निर्णय प्रक्रिया प्रभावकारी बन्न नसकेको जनाएको छ। निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि केन्द्रीय कमिटी बैठक बस्न नसक्नुले कार्यकर्ता र शुभेच्छुकमा निराशा बढाएको अभियानको निष्कर्ष छ।
अभियानले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको वस्तुनिष्ठ र निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएको छ। पराजयका कारण पहिचान गरी आगामी राजनीतिक तथा सांगठनिक रणनीति तय गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ।
पार्टी सुदृढीकरण तथा पुनर्गठनका लागि गठन गरिएको १६ सदस्यीय कार्यदलले विभिन्न १३ वटा क्लस्टरबाट सुझाव संकलन गरी प्रतिवेदन बुझाइसकेको भए पनि त्यसबारे नेतृत्वले आवश्यक छलफल अघि नबढाएको अभियानको आरोप छ। उक्त प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक निर्णय लिनुपर्ने माग अभियानले गरेको छ।
अभियानले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएकोप्रति समेत चिन्ता व्यक्त गरेको छ। पार्टीलाई व्यक्तिकेन्द्रित नभई नीति र विधिमा आधारित ढंगले सञ्चालन गर्नुपर्ने भन्दै नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गरिएको छ।
त्यस्तै, वर्तमान सरकारको कार्यशैली र कतिपय नीतिप्रति पनि अभियानले प्रश्न उठाएको छ। सरकार सञ्चालनमा देखिएको अपरिपक्वता र अन्योलले राष्ट्रिय हित तथा सुरक्षाका विषयमा चिन्ता बढाएको उसको दाबी छ।
पुनर्जागरण अभियानले तत्काल निर्वाचन समीक्षा र पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न, सचिवालय तथा केन्द्रीय कमिटी बैठक बोलाउन, पार्टी शुद्धीकरण तथा पुनर्संरचनाको स्पष्ट खाका बनाउन र जनतासँगको सम्बन्ध पुनः स्थापित गर्न नेतृत्वसँग माग गरेको छ।
अभियानले पार्टीभित्रको वर्तमान चुनौती समाधानका लागि ‘व्यक्तिभन्दा पार्टी, पदभन्दा नीति’लाई प्राथमिकता दिनुपर्ने बताएको छ। कमजोरी स्वीकार गर्दै पार्टीलाई पुनर्गठित र जनविश्वास पुनः स्थापित गर्ने दिशामा नेतृत्व अघि बढ्नुपर्ने उसको निष्कर्ष छ।







