रास्वपाको तीव्र विस्तारप्रति रवि लामिछानेको आत्मसमीक्षा, ‘जगभन्दा ठूलो संरचना बन्यो’
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको संगठन विस्तार निकै तीव्र हुँदा त्यसको आधार अपेक्षाकृत कमजोर रहेको स्वीकार गरेका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अब पार्टीको संरचनालाई सुरक्षित राख्दै संस्थागत रूपमा बलियो बनाउने चुनौती नेतृत्वसामु रहेको बताए। लामिछानेले रास्वपा स्थापना हुँदा देशमा राजनीतिक परिवर्तनको तीव्र चाहना रहेकाले जनताले पार्टीलाई नयाँ आशा र भरोसाका रूपमा अघि सारेको बताए।
त्यसैको परिणामस्वरूप पार्टीले आफ्नो संगठनात्मक जग बलियो बनाउने समय नपाउँदै ठूलो आकार लिएको उनको भनाइ थियो। उनले पार्टीको आगामी प्राथमिकता संगठनको आधार बलियो बनाउनु र बनेको संरचनालाई व्यवस्थित ढंगले अघि बढाउनु रहेको संकेत गरे। विगतका कमजोरीबाट पाठ सिक्दै पार्टीलाई आवश्यक ठाउँमा ‘टेको’ दिएर अड्याउनुपर्ने उनको भनाइ थियो।
लामिछानेले युवा नेतृत्वका लागि वर्तमान समय महत्वर्ण परीक्षाको घडी भएको बताए। युवाहरूले राजनीतिक नेतृत्व सम्हाल्न सक्दैनन् भन्ने धारणा स्थापित हुन नदिन आफूहरूले परिणाममार्फत क्षमता प्रमाणित गर्नुपर्ने उनको जोड थियो।
उनका अनुसार रास्वपाले अपेक्षित परिणाम दिन नसके त्यसले नयाँ पुस्तालाई राजनीतिमा नेतृत्व गर्न आउने वातावरणमा समेत नकारात्मक असर पार्न सक्छ। त्यसैले युवाहरूको नेतृत्व क्षमता र राजनीतिक विश्वसनीयता स्थापित गर्ने जिम्मेवारी वर्तमान पुस्तामाथि रहेको उनले बताए।
लामिछानेले रास्वपालाई अब केवल ‘वैकल्पिक शक्ति’का रूपमा प्रस्तुत गरेर नपुग्ने बताएका छन्। पार्टीले देशको ‘निर्विकल्प शक्ति’ बन्ने लक्ष्यसहित आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने उनको भनाइ छ। “हामी विकल्प खोज्न आएका होइनौँ, आफैँ विकल्प बन्न आएका हौँ,” उनले भने।
जनताको विश्वास कायम राख्न पार्टीले सही राजनीतिक बाटो, प्रभावकारी संगठन र परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिनुपर्ने उनले बताए। पार्टी नेतृत्वले समयमै कमजोरी पहिचान गरी सुधार गर्न नसके जनताले फेरि अर्को राजनीतिक विकल्प खोज्ने जोखिमसमेत उनले औँल्याए।







