सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाल थुनामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी अर्को मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउने आदेश गरेको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवैलाई थुनामा राख्ने आदेश दिएको हो। बयान र थुनछेक बहस सकिएपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका भट्ट र अग्रवाललाई बुधबार दोस्रो मुद्दाको सुनुवाइका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा भट्ट र अग्रवालविरुद्ध पनि अभियोग दायर गरिएको थियो।
उक्त मुद्दामा विशेष अदालतले पूर्वअर्थमन्त्री पौडेललाई भने साधारण तारिखमा छाड्ने आदेश दिएको छ। एउटै मुद्दामा प्रतिवादी बनाइएका भट्ट र अग्रवाललाई भने अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने निर्णय गरेको हो।
अदालतको आदेशसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा भट्ट र अग्रवालको न्यायिक हिरासत निरन्तर रहने भएको छ।







