कोशी प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीको राजीनामा

User Image Prime TV News एक महिना अगाडि
Image of कोशी प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीको राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्।

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू रहेका छन्। यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङले पनि राजीनामा दिएकी छन्।

उनीहरूले बुधबार बसेको मन्त्रिपरिषद् बैठकको समापनपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्। केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच गठबन्धनका लागि साउन दोस्रो साता तीनबुँदे सहमति भएपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो। सोही राजनीतिक समीकरणअनुसार कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको हो।

कांग्रेस र एमालेबीच भएको सहमतिपछि कोशी प्रदेशमा दोस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा २०८२ पुस २२ गते सुनुवार, पराजुली, मन्सुरी, लिम्बू र चेम्जोङ सरकारमा सहभागी भएका थिए। कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै कोशी प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठनको बाटो खुलेको छ।

अब मुख्यमन्त्री कार्कीले नयाँ सत्ता गठबन्धनअनुसार सरकारको संरचना र मन्त्रालय बाँडफाँटलाई अघि बढाउने तयारी गर्नेछन्।