एमाले बागमती संसदीय दलका नेता जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
संसदीय दलको नेता परिवर्तनको माग गर्दै बुधबार एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गरिएको हो। प्रदेश सांसद किरण थापाका अनुसार १८ जना सांसदको हस्ताक्षरसहित थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
पार्टीको निर्देशनअनुसार संसदीय दलको नेता परिवर्तनको प्रक्रिया अघि बढाइएको उनले बताए। थापाका पक्षबाट पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गराएका हुन्।
पूर्वमन्त्री थापाका अनुसार केही समयअघि भक्तपुरको गुण्डुमा संकलन गरिएको सांसदहरूको हस्ताक्षर प्रतिनिधिमार्फत दलको सचिवालयमा बुझाइएको हो। प्रस्ताव दर्ता भएसँगै अब एमाले संसदीय दलको विधानअनुसार प्रक्रिया अघि बढ्नेछ।
विधान अनुसार अविश्वास प्रस्ताव दर्ता भएको सात दिनभित्र संसदीय दलको बैठक बोलाएर प्रस्तावमाथि छलफल गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ। बैठकमा प्रस्तावमाथि छलफलपछि दलको नेताबारे निर्णय हुने सम्भावना छ। एमाले बागमती संसदीय दलको नेतृत्वलाई लिएर केही समययता विवाद रहँदै आएको थियो।
विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा समेत पटक–पटक छलफल भएको थियो। अविश्वास प्रस्ताव औपचारिक रूपमा दर्ता भएपछि बागमती प्रदेशमा एमाले संसदीय दलको नेतृत्व परिवर्तनको विषय थप निर्णायक चरणमा प्रवेश गरेको छ।







