झन्डै ६ महिनापछि स्वदेश फर्किंदै देउवा, विमानस्थलमा झाँकीसहित स्वागतको तयारी

User Image Prime TV News एक महिना अगाडि
Image of झन्डै ६ महिनापछि स्वदेश फर्किंदै देउवा, विमानस्थलमा झाँकीसहित स्वागतको तयारी

काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन्।

उपचारका लागि विदेशमा रहेका देउवा करिब साढे पाँच महिनापछि काठमाडौं फर्किन लागेका हुन्। देउवालाई कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ।

राष्ट्रिय भेलाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाले देउवाको स्वागतमा सांस्कृतिक झाँकीसहितको कार्यक्रम आयोजना गरिने जानकारी दिएकी छन्।

कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार मध्याह्न साढे १२ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम छ। उनी थाई एयरमार्फत नेपाल फर्किन लागेका हुन्।

देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी हङकङ पुगेका थिए। विदेशमा उपचार तथा फलोअप सकेर उनी आज नेपाल फर्किन लागेका हुन्।

राष्ट्रिय भेलामा सहभागी हुने

स्वदेश फर्किएपछि देउवा शुक्रबार कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलामा सहभागी हुने भएका छन्। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलाको उद्घाटन दिउँसो १ बजे हुने प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले बताएका छन्।

तीन दिनसम्म सञ्चालन हुने भनिएको राष्ट्रिय भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने आयोजक पक्षको अनुमान छ। देउवाको स्वदेश फिर्तीसँगै कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधि र संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई थप महत्वका साथ हेरिएको छ।

विदेशमा रहेका कारण लामो समयदेखि पार्टीका गतिविधिबाट टाढा रहेका देउवाको नेपाल आगमनपछि कांग्रेसभित्रको राजनीतिक संवाद र समूहगत गतिविधि थप सक्रिय हुने बताइएको छ ।