जनआस्था सम्पादक श्रेष्ठको पक्राउप्रति प्रचण्डको आपत्ति, तत्काल रिहाइको माग

User Image Prime TV News एक महिना अगाडि
Image of जनआस्था सम्पादक श्रेष्ठको पक्राउप्रति प्रचण्डको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचार प्रकाशनसँग सम्बन्धित विषयमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्।

दाहालले समाचार लेखेकै आधारमा निश्चित विधि र कानुनी प्रक्रिया पूरा नगरी राज्य पक्षबाट श्रेष्ठमाथि धरपकड गरिनु लोकतन्त्रको मर्मविपरीत भएको बताएका छन्।

‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो,’ उनले भनेका छन्।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै राज्यका निकायले कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिएका छन्। समाचार प्रकाशनसँग जोडिएको विषयमा पत्रकार तथा सञ्चारकर्मीमाथि हुने कारबाहीले प्रेस स्वतन्त्रतामा असर पार्न सक्ने भन्दै उनले श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका हुन्।

श्रेष्ठमाथि भएको पक्राउ तथा धरपकडको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था र पत्रकारितासँग सम्बन्धित विवादमा अपनाउनुपर्ने कानुनी प्रक्रियाबारे पुनः बहस सिर्जना गरेको छ।