देशभर मनसुनी प्रभाव कायमै, विभिन्न क्षेत्रमा मध्यम वर्षाको सम्भावना
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानकै आसपासमा अवस्थित छ।
हाल मधेस प्रदेशसहित कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदलीसहित मौसम सामान्य रहेको विभागले जनाएको छ।
अहिले कोशी र वाग्मती प्रदेशका केही स्थान तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा दिनभर सामान्यतया बदली रहनेछ।
मधेस प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। दिउँसो र राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि थोरै स्थानमा मध्यमसम्म वर्षा हुनुका साथै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा मधेस प्रदेशसहित कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।
सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी प्रणाली सक्रिय रहेकाले वर्षाका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने सम्भावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।







