रुसी जहाज जफत गरे युरोपेली जहाज पनि कब्जा गर्ने पुटिनको चेतावनी

User Image Prime TV News एक महिना अगाडि
Image of रुसी जहाज जफत गरे युरोपेली जहाज पनि कब्जा गर्ने पुटिनको चेतावनी

काठमाडौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले रुसी कार्गो बोकेका थप व्यावसायिक जहाज जफत गर्ने योजना अघि बढाए त्यसको जवाफमा रुसले युरोपेली जहाज कब्जा गर्न सक्ने चेतावनी दिएका छन्।

प्रशान्त महासागरको सखालिन टापुनजिक रुसी नौसेनाको सैन्य अभ्यास भइरहेका बेला एउटा रुसी क्रुजर युद्धपोतमा सवार पुटिनले यस्तो चेतावनी दिएका हुन्।

रुसी समाचार एजेन्सी टासका अनुसार उनले रुसले आफूलाई आवश्यक र उपयुक्त लागेको स्थानमा युरोपेली जहाज जफत गर्न सक्ने बताएका छन्।

पछिल्लो समय युरोपेली प्रतिबन्ध उल्लंघन गर्दै रुसी तेल ओसारपसार गरेको आशंकामा केही युरोपेली मुलुकले विभिन्न जहाज रोकेका छन्। ती जहाज रुसको प्रतिबन्ध छल्न प्रयोग हुने भनिएको ‘छद्म जहाज’ अर्थात् ‘शेडो फ्लीट’को हिस्सा भएको आशंका गरिएको छ।

गत महिना पारित नयाँ प्रतिबन्धअनुसार युरोपेली संघका सदस्य राष्ट्रलाई रोकिएका जहाजबाट जफत गरिएको तेल तथा अन्य कार्गो बिक्री गर्न अनुमति दिइएको छ।

युरोपेली देशहरूले रुसी जहाजको आवतजावत सीमित गर्ने तथा रुसी जहाजबाट जफत गरिएको सम्पत्ति बिक्री गर्ने सम्भावना सहितका योजना अघि सारेको भन्दै पुटिनले त्यसको कडा विरोध गरेका छन्।

रिया नोभोस्तीका अनुसार पुटिनले यस्ता कदमलाई ‘समुद्री डकैती र लुटपाट’को संज्ञा दिँदै योजना कार्यान्वयन भए रुसले ‘जस्तालाई त्यस्तै जवाफ’ दिने बताएका छन्।

उनले यस विषयमा रुसी रक्षा मन्त्रालय र प्रशान्त क्षेत्रमा रुसी समुद्री सैन्य हितको जिम्मेवारी लिएको प्यासिफिक फ्लिटलाई आवश्यक निर्देशन दिइसकेको समेत बताएका छन्।

पुटिनले नेटोले एसिया–प्रशान्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति विस्तार गरिरहेको आरोप समेत लगाएका छन्। उनका अनुसार उक्त क्षेत्रमा नयाँ सैन्य–राजनीतिक गठबन्धन निर्माण भइरहेका छन् भने रुसका लागि खतरा उत्पन्न गर्ने नयाँ हतियार प्रणाली तैनाथ गर्ने तयारी भइरहेको छ।

पुटिनले आर्कटिक क्षेत्रमा समेत तनाव बढिरहेको दाबी गरेका छन्। पछिल्लो समय रुस र पश्चिमी मुलुकबीच युरोप, आर्कटिक तथा एसिया–प्रशान्त क्षेत्रमा सैन्य तथा रणनीतिक प्रतिस्पर्धा बढिरहेका बेला उनको यस्तो अभिव्यक्ति आएको हो।