एस्टन भिल्लालाई हराउँदै पीएसजी लगातार दोस्रोपटक सुपर कप च्याम्पियन

User Image Prime TV News एक महिना अगाडि
Image of एस्टन भिल्लालाई हराउँदै पीएसजी लगातार दोस्रोपटक सुपर कप च्याम्पियन

काठमाडौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै लगातार दोस्रोपटक यूईएफए सुपर कपको उपाधि जितेको छ।

बुधबार अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा भएको रोमाञ्चक खेलमा पीएसजीले दोस्रो हाफमा गरेको निर्णायक गोलसँगै उपाधि रक्षा गरेको हो।

पीएसजीको जितमा ख्विचा क्वारात्स्खेलिया र डिजिरे डुएले गोल गरे। एस्टन भिल्लाका १७ वर्षीय ब्रायन माड्जोले बराबरी गोल गरेका थिए।

खेलको २०औँ मिनेटमा क्वारात्स्खेलियाले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाए। उनले डिजिरे डुएबाट प्राप्त पासमा भिल्लाको रक्षापंक्ति छलाउँदै उत्कृष्ट प्रहार गरेका थिए।

पहिलो हाफ सकिनै लाग्दा माड्जोले एस्टन भिल्लालाई खेलमा फर्काए। जोन म्याकगिनको क्रसमा प्राप्त अवसरलाई सदुपयोग गर्दै उनले गोल गरे। यससँगै माड्जो यूईएफए सुपर कपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने।

दोस्रो हाफमा पीएसजीले पुनः अग्रता बनायो। खेलको ६१औँ मिनेटमा डुएले गोल गर्दै फ्रेन्च टोलीलाई २–१ को अग्रता दिलाए। सुरुमा अफसाइडको संकेत गरिए पनि भीएआर जाँचपछि गोललाई मान्यता दिइएको थियो।

त्यसपछि एस्टन भिल्लाले बराबरीका लागि लगातार दबाब बनाए पनि पीएसजीको रक्षापंक्तिले अन्तिम समयसम्म अग्रता जोगायो।

लगातार दुईपटक उपाधि जित्ने तेस्रो टोली

यो जितसँगै पीएसजी लगातार दुईपटक यूईएफए सुपर कप जित्ने इतिहासकै तेस्रो टोली बनेको छ। यसअघि एसी मिलान र रियल मड्रिडले पनि लगातार दुई संस्करणमा उपाधि जितेका थिए।

गत वर्ष पीएसजीले टोटेनहम हट्सपरलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलोपटक सुपर कप जितेको थियो। पीएसजीका प्रशिक्षक लुइस एनरिकेले क्लबमा आबद्ध भएयता १३औँ उपाधि जितेका छन्।

एस्टन भिल्लाका प्रशिक्षक उनाइ एमरी भने यूईएफए सुपर कपका चारै सहभागितामा पराजित भएका छन्। यसपटकको सुपर कपमा पीएसजी च्याम्पियन्स लिग विजेता र एस्टन भिल्ला युरोपा लिग विजेताका रूपमा आमनेसामने भएका थिए।