पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको धर्ना, प्रहरी र पत्रकारबीच केहीबेर घम्साघम्सी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पत्रकार किशोर श्रेष्ठलाई बिनाशर्त रिहाइ गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिएको छ।
महासंघको नेतृत्वमा पत्रकारहरूले कालोपट्टी बाँधेर प्रदर्शन तथा धर्ना दिएका हुन्। शान्तिपूर्ण रूपमा धर्नामा बस्न खोज्दा प्रहरीले रोकेपछि प्रहरी र पत्रकारबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो।
प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ र ‘पत्रकार किशोर श्रेष्ठलाई बिनाशर्त रिहा गर’ लगायतका नारा लगाएका थिए। उनीहरूले प्रेस स्वतन्त्रतामाथि राज्यको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।
प्रदर्शनकारीहरूले विभिन्न मागसहितका प्लेकार्ड प्रदर्शन गर्नुका साथै केही सहभागीले बलिरहेको लाल्टिनसमेत बोकेका थिए। ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
नेपाल प्रहरीले बुधबार जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो। प्रहरीले श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।
पत्रकार महासंघले भने श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।







