चीनतर्फ ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित

User Image Prime TV News एक महिना अगाडि
Image of चीनतर्फ ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित

सिन्धुपाल्चोक । चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ।

पहिरोका कारण चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधा थुनिएको जनाइएको छ। भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको ठूलो पहिरो खसेको हो।

पहिरोका कारण नदीको बहाव अवरुद्ध भएकाले जुनसुकै बेला जोखिमपूर्ण अवस्था सिर्जना हुनसक्ने भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासन तथा जनप्रतिनिधिले आग्रह गरेका छन्। विशेषगरी भोटेकोशी, बाह्रबिसे र बलेफी क्षेत्रअन्तर्गत नदी किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।

सशस्त्र प्रहरी बल लामोसाँघुले समेत सम्भावित जोखिमलाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरेको छ। नदीको बहाव प्रभावित भएकाले भोटेकोशी आसपासका क्षेत्रमा सम्भावित बाढी तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई निरन्तर सतर्क रहन आग्रह गरिएको छ।