रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, ९ जना बेपत्ता
Prime TV News एक महिना अगाडि 
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ बोटबारामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ।
पहिरोमा ९ जना अझै बेपत्ता छन् भने दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। बुधबार राति करिब ८ः४० बजे घरमाथिबाट पहिरो खस्दा कमलबहादुर पुनमगरसहित ६ वटा घर तथा गोठ पुरिएका थिए।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परेर थबाङ–५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीया शान्ती पुनमगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ। पहिरोमा परी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्।
उनीहरूलाई उद्धार गरी उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चकुमार बाखुका अनुसार सुरुमा १० जना बेपत्ता रहेकोमा एक जनाको शव फेला परेको हो। उनका अनुसार बाँकी ९ जनाको खोजी तथा उद्धार कार्य जारी छ। प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा पहिरो पन्छाएर बेपत्ताको खोजी भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।







