पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न नेपाल मिडिया सोसाइटीको माग

User Image Prime TV News एक महिना अगाडि
Image of पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न नेपाल मिडिया सोसाइटीको माग

काठमाडौ । नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेको छ।

सोसाइटीका महासचिव बोधराज त्रिपाठीले जारी गरेको विज्ञप्तिमा प्रकाशित समाचारका विषयमा कुनै कानुनी प्रश्न वा आपत्ति भए प्रचलित कानुन तथा प्रेस काउन्सिलबाट स्थापित प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको सोसाइटीले जनाएको छ। पत्रकार तथा सञ्चारमाध्यमले प्रचलित कानुनको पालना गर्नुपर्नेमा आफूहरू स्पष्ट रहेको उल्लेख गर्दै सोसाइटीले कानुनी उपचार खोज्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार र प्रेससम्बन्धी स्थापित मान्यताको सम्मान हुनुपर्ने जनाएको छ।

नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै सोसाइटीले पत्रकारलाई समाचार प्रकाशनकै कारण त्रसित बनाउने वा स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्ने गतिविधिप्रति ध्यानाकर्षण गराएको छ।

सोसाइटीले स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनविरुद्ध निरन्तर खबरदारी गर्ने प्रतिबद्धता पनि जनाएको छ। नेपाल प्रहरीले बुधबार पत्रकार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

त्यसपछि बिहीबार बिहान प्रहरीले जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो। श्रेष्ठको पक्राउ र कार्यालयमा गरिएको खानतलासीको विरोधमा नेपाल पत्रकार महासंघले पनि आवाज उठाएको छ। महासंघको अगुवाइमा पत्रकारहरूले बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौं कार्यालयअगाडि प्रदर्शन तथा धर्ना दिँदै श्रेष्ठलाई बिनाशर्त रिहा गर्न माग गरेका छन्।