सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज राजीनामा दिने
Prime TV News एक महिना अगाडि 
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पदबाट राजीनामा दिने भएका छन्।
मुख्यमन्त्री शाहले आज साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेपछि शाहले राजीनामा दिन लागेका हुन्।
गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि आज पूरा हुँदैछ। त्यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बुधबार बसेको थियो।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नयाँ सरकार गठनका लागि नेकपा र नेकपा एमालेबीच सहमति भइसकेको बताइएको छ। सहमति अनुसार नेकपाको नेतृत्वमा नयाँ प्रदेश सरकार गठन गर्ने तयारी भइरहेको छ।







