दक्षिण एसियाको राजनीतिक फेरबदलले नेपालमा नयाँ चुनौती थपेको राजन भट्टराईको भनाइ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका सचिव एवं परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराईले दक्षिण एसियामा भइरहेको राजनीतिक फेरबदल र शक्ति राष्ट्रहरूबीच बढ्दो प्रतिस्पर्धाले नेपालका लागि नयाँ चुनौती थपेको बताएका छन्।
नेपाल कानुन समाज र संविधान निगरानी समूहले आयोजना गरेको ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक अन्तरक्रियामा बोल्दै भट्टराईले दक्षिण एसियाका प्रमुख मुलुकमा देखिएको सत्ता परिवर्तनको लहरलाई नेपालले गम्भीर रूपमा अध्ययन गर्नुपर्ने बताए।
उनले पछिल्लो राजनीतिक परिवर्तनले शक्ति राष्ट्रहरूबीचको सम्बन्ध सहकार्यतर्फ जाने हो वा प्रतिस्पर्धा बढ्दै टकरावतर्फ जाने हो भन्ने विषय महत्वपूर्ण रहेको बताए। यस्तो अवस्थाले नेपालमा प्रत्यक्ष प्रभाव पार्न सक्ने उनको भनाइ छ।
भट्टराईका अनुसार नेपालमा सञ्चालित कनेक्टिभिटी परियोजना, अमेरिकी सहयोग परियोजना एमसीसी र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लगायतका विषय पनि पछिल्लो भूराजनीतिक प्रतिस्पर्धासँग जोडिएका छन्।
दुई ठूला शक्तिराष्ट्रबीच रहेको नेपालको भूराजनीतिक महत्त्व उनीहरूको प्रभाव विस्तारसँगै अझ बढेको उल्लेख गर्दै उनले नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक चासोको केन्द्र बन्दै गएको बताए। परराष्ट्र मामिलामा नेपालको आन्तरिक तयारी र संस्थागत क्षमता कमजोर रहेकोमा चिन्ता व्यक्त गर्दै भट्टराईले यस्ता विषयमा गहिरो अध्ययन तथा विश्लेषण गर्ने संस्थागत संरचना आवश्यक रहेको बताए।
उनले समयमै बदलिँदो भूराजनीतिक अवस्थालाई बुझेर आवश्यक तयारी गर्न नसके नेपाल गम्भीर संकटमा फस्न सक्ने चेतावनी दिए। उनका अनुसार मुलुकभित्र आपसी सहमति कायम गर्न नसके बाह्य शक्तिले आफ्नो स्वार्थअनुसार परिस्थिति प्रभावित गर्ने जोखिम बढ्न सक्छ।
भट्टराईले बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिको सूक्ष्म विश्लेषण गर्दै नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए।







