पाँच महिनापछि नेपाल फर्कंदै देउवा, स्वागतका लागि विमानस्थलमा कांग्रेस नेताकार्यकर्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि आज नेपाल फर्कंदै छन्।
देउवालाई स्वागत गर्न कांग्रेसका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। देउवाको स्वागतका लागि संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेताहरू विमानस्थल पुगेका हुन्।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशशरण महत, एनपी साउद, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मा, मोहनबहादुर बस्नेत र उमाकान्त चौधरीलगायत नेता विमानस्थल पुगिसकेका छन्।
देउवाको स्वागतका लागि आउने कार्यकर्तालाई तीन स्थानमा भेला हुन भनिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने गेटअगाडिको खाली स्थान, नमस्ते गेटअगाडिको खाली ठाउँ तथा तिलगंगा आँखा अस्पतालअगाडिको क्षेत्रमा समर्थकलाई भेला हुन आग्रह गरिएको छ।
इतर समूहले देउवालाई स्वागत गर्न विमानस्थलमा उपस्थित हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेको थियो। नेता मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि करिब ७ देखि ८ हजार नेता तथा कार्यकर्ता उपस्थित भएका छन्।
देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। लामो समयपछि नेपाल फर्किन लागेका देउवाको स्वागतका लागि कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ।







