दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने

User Image Prime TV News एक महिना अगाडि
Image of दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने

काठमाडौ । लामो समयदेखि पटक–पटक सर्दै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तय भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहीबार बसेको १२५औं बोर्ड बैठकले आगामी मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। बोर्ड बैठकमा सहभागी एक सदस्यका अनुसार दशौं राष्ट्रिय खेलकुदका लागि यो पाँचौंपटक मिति तोकिएको हो।

प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय यसअघि नै भइसकेको छ। दशौं राष्ट्रिय खेलकुद यसअघि पनि पटक–पटक मिति तोकिएर स्थगित हुँदै आएको छ। २०७९ कात्तिक–मंसिरमा गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको समापनका क्रममा दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा आयोजना गर्ने घोषणा गरिएको थियो।

तर, आवश्यक खेल पूर्वाधार तयार हुन नसकेपछि निर्धारित समयमा प्रतियोगिता आयोजना हुन सकेन। त्यसपछि २०८१ चैत २३ देखि ३० गतेसम्म गर्ने गरी नयाँ मिति तोकियो। उक्त मितिमा पनि प्रतियोगिता हुन नसकेपछि २०८२ जेठ ३ देखि १० गतेसम्म सारियो।

त्यसपछि पुनः फागुन १ देखि ७ गतेसम्म आयोजना गर्ने निर्णय गरिए पनि आर्थिक अभावका कारण प्रतियोगिता सञ्चालन हुन सकेन। राखेपले त्यसपछि जेठमा प्रतियोगिता गर्ने तयारी गरे पनि त्यो प्रयाससमेत सफल भएन।

पछिल्लो पटक जेनजी मन्त्री बनेका बब्लु गुप्ताले २०८२ फागुनमा दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेका थिए। तर, निर्धारित समय आउनुअघि नै उनले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा केन्द्रित भएपछि उक्त निर्णयअनुसार पनि प्रतियोगिता हुन सकेन।

अब राखेपले मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने नयाँ कार्यतालिका तय गरेको छ। यसपटक निर्धारित मितिमै प्रतियोगिता सम्पन्न गर्न पूर्वाधार, बजेट र व्यवस्थापनको तयारी मुख्य चुनौतीका रूपमा देखिएको छ।