५० वर्षे राजनीतिक जीवनमा भ्रष्टाचारको दाग छैन : देउवा

User Image Prime TV News एक महिना अगाडि
Image of ५० वर्षे राजनीतिक जीवनमा भ्रष्टाचारको दाग छैन : देउवा

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पाँच दशक लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरेका छन्।

करिब पाँच महिनापछि स्वदेश फर्किएका देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो निवास चुनदेवी पुगेपछि नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै आफूविरुद्ध भइरहेका छानबिन, उजुरी तथा कानुनी प्रक्रियाबाट आफू विचलित नहुने बताएका हुन्।

आफूविरुद्ध विभिन्न उजुरी र छानबिन भइरहे पनि अदालत जान आफू नडराउने देउवाको भनाइ थियो। उनले लामो राजनीतिक जीवनमा आफूले कुनै आर्थिक अनियमितता नगरेको दाबी गर्दै आफूविरुद्धका आरोपको सामना गर्न तयार रहेको बताए।

देउवाले सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसंगसमेत उठाउँदै लोकतन्त्र र गणतन्त्रलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरे। गणतन्त्र कुनै व्यक्तिको चाहनाले मात्र स्थापित नभएको भन्दै उनले जनताबाट निर्वाचित संविधानसभाले गणतन्त्र स्थापना गरेको स्मरण गरे।

गणतन्त्रको रक्षा गर्ने अधिकार र शक्ति जनतामै रहेको उल्लेख गर्दै देउवाले देशको जनता नै मुलुकको मालिक भएको बताए। जनताले गर्ने निर्णय नै अन्तिम हुने उनको भनाइ थियो। आफूविरुद्ध भइरहेका गतिविधिबारे अदालत र जनताले सबै कुरा बुझ्ने बताउँदै देउवाले आफूलाई लक्षित गरिएका षड्यन्त्र तथा कानुनी उल्झनको जवाफ समयले दिने बताए।

लामो समय उपचारका क्रममा सिंगापुर र हङकङमा रहेका देउवा बिहीबार स्वदेश फर्किएका हुन्। स्वदेश फर्किएपछि उनले पहिलोपटक नेता तथा कार्यकर्तामाझ राजनीतिक विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।