नेपाली कांग्रेसको सभापति अझै शेरबहादुर देउवा नै हुन्ः शशांक कोइराला

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसको सभापति अझै शेरबहादुर देउवा नै हुन्ः शशांक कोइराला

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको वैधानिक सभापति अझै शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्।

बिहीबार देउवा करिब साढे पाँच महिनापछि स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका कोइरालाले सभापतिको जिम्मेवारीमा कुनै कानुनी अवरोध नरहेको बताएका हुन्। उनले देउवाविरुद्ध अदालतबाट कुनै ‘स्टे अर्डर’ नआएको उल्लेख गर्दै पार्टीलाई देउवाकै नेतृत्वमा अघि बढाउनुपर्ने धारणा राखे।

कांग्रेसभित्र देखिएको आन्तरिक विभाजन अन्त्य गरी सबै पक्षलाई पुनः एउटै मूलधारमा ल्याउनुपर्नेमा उनले जोड दिए। विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सानेपामा रहेको कांग्रेसको अर्को पक्ष पार्टीबाट अलग भएको टिप्पणी गरे। उनले बाहिरिएको पक्षले देउवाप्रति अनादर गरे पनि पार्टीको सभापति देउवा नै रहेको दाबी गरे।

कोइरालाले भने, ‘सानेपा कांग्रेस छुट्टिएर गएको छ, उनीहरू आउनुपर्ने हो। उनीहरूले अनादर गर्छन् वा के गर्छन्, उनीहरूको कुरा हो। तर अहिले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै हुन्।’ पार्टीको नेतृत्व र कानुनी प्रक्रियाबारे बोल्दै उनले देउवालाई सभापति बन्न रोक्ने गरी अदालतबाट कुनै आदेश नआएको जिकिर गरे।

कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढाउने प्रयास निरन्तर जारी रहने उनको भनाइ थियो। पार्टीभित्रको असन्तुष्टि र विभाजनलाई संवादमार्फत समाधान गर्नुपर्ने उल्लेख गर्दै कोइरालाले अन्ततः कांग्रेसका सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नरहेको बताए।