शेरबहादुर देउवाद्वारा कांग्रेसभित्र एकताको आह्वान (अपिल सहित)
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको असहमति र निराशा अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
करिब साढे पाँच महिनापछि स्वदेश फर्किएका देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय हुन नेपाल फर्किएको बताएका छन्। कांग्रेस एकताबद्ध भएर मुलुकमा क्रियाशील अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको देउवाको भनाइ छ।
उनले पार्टीभित्र देखिएका असहमति र निराशालाई तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्। मुलुकको प्रमुख राजनीतिक दलभित्र विवाद हुँदा राष्ट्रियता कमजोर हुनसक्ने भन्दै देउवाले कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा मतदातालाई सामूहिक भावनाका साथ अघि बढ्न अपिल गरेका छन्। कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी भएकाले सबैले त्याग, बलिदान र संघर्षलाई स्वीकार गर्दै एकताका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ।
देउवाले कांग्रेस कुनै व्यक्तिको इगोका आधारमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्। आफू सत्ता प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय भएको उनले स्पष्ट पारे। वि.सं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग स्मरण गर्दै देउवाले वर्तमान परिस्थितिमा पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।
‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु,’ देउवाले भनेका छन्। उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विधिको शासनप्रति आफ्नो अटुट प्रतिबद्धता दोहोर्याउँदै मुलुकको हितका लागि सबै राजनीतिक शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।









