चुनदेवीस्थित इतर समूहको कार्यालयमा देउवाका लागि छुट्टै कार्यकक्ष

User Image Prime TV News एक महिना अगाडि
Image of चुनदेवीस्थित इतर समूहको कार्यालयमा देउवाका लागि छुट्टै कार्यकक्ष

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवाका लागि चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयमा छुट्टै कार्यकक्ष स्थापना गरेको छ।

देउवाको कार्यकक्षको बाहिर र चेम्बरभित्र ‘सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेट राखिएको छ। करिब पाँच महिनापछि स्वदेश फर्किएका देउवालाई स्वागत गर्न इतर समूहका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेपछि देउवा उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि उनी बिहीबार नेपाल फर्किएका हुन्। विमानस्थलबाट देउवालाई बाजागाजासहित चुनदेवीस्थित इतर समूहको कार्यालय लगिएको थियो।

कांग्रेसको नेतृत्वलाई लिएर पार्टीभित्र विवाद कायम रहेका बेला देउवाका लागि छुट्टै कार्यकक्ष स्थापना गरिएको हो। कांग्रेसको विशेष महाधिवेशनबाट माघ १ गते गगनकुमार थापा सभापति चयन भएका थिए। उनको नेतृत्वलाई निर्वाचन आयोग तथा अदालतले मान्यता दिइसकेको भए पनि तत्कालीन उपसभापति पूर्णबहादुर खड्कासहितको समूहले त्यसविरुद्ध पुनरावेदन दिएको थियो।

उक्त मुद्दामा सर्वोच्च अदालतले हालै पुनः सुनुवाइ गर्ने आदेश दिएको छ। यसबीच कांग्रेसको संस्थापन इतर समूहले थापालाई सभापतिको रूपमा स्वीकार नगरेको बताउँदै आएको छ। देउवाको स्वदेश आगमनसँगै कांग्रेसभित्रको नेतृत्व विवाद थप चर्चामा आएको छ।

चुनदेवीस्थित कार्यालयमा उनलाई ‘सभापति’को हैसियतमा राखिएको नेमप्लेटले पनि पार्टीभित्रको नेतृत्वसम्बन्धी विवाद कायमै रहेको संकेत गरेको छ।