कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला आजदेखि
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको ‘राष्ट्रिय भेला’ आजदेखि काठमाडौंमा सुरु हुँदैछ।
सुकेधारास्थित मिराकल पार्टी भेन्युमा बिहान ११ बजे उद्घाटन हुने भेला साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। झन्डै साढे पाँच महिना सिंगापुर र हङकङमा बसेर बिहीबार स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर इतर पक्षले भेला आयोजना गरेको हो।
विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा चयन भएपछि पार्टीभित्र देखिएको शक्ति संघर्षका बीच आयोजना गरिएको भेलालाई इतर पक्षले नीति बहस र शक्ति प्रदर्शनको अवसरका रूपमा अघि बढाएको छ।
पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षतामा हुने भेलामा शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौलालगायत नेताहरूलाई विशिष्ट अतिथिका रूपमा सहभागी गराउने तयारी छ।
भेलामा करिब ४ हजार ५ सय नेता–कार्यकर्ता सहभागी हुने प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले बताएका छन्। आयोजकले स्थलमा करिब ५ हजार ५ सय कुर्सीको व्यवस्था गरेको छ।
उद्घाटन सत्रमा अतिथिका भाषण तथा कार्यक्रम हेर्न सकिने गरी मञ्चको अगाडि र पछाडि गरी ६ वटा डिजिटल बोर्ड राखिएका छन्। दुई दिन प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले साउन २१ गते पुनः सुनुवाइका लागि निस्सा दिएपछि भेलाको स्वरूपसमेत केही परिवर्तन भएको इतर पक्षका नेताहरूको भनाइ छ।
अब भेलालाई तत्काल कुनै औपचारिक निर्णयभन्दा पनि नीति, संगठन र पार्टीभित्रको शक्ति सन्तुलनबारे धारणा राख्ने तथा आफ्नो पक्षको शक्ति देखाउने थलोका रूपमा अघि बढाउने तयारी गरिएको छ।







