सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्ने, आजै शपथको तयारी

User Image Prime TV News एक महिना अगाडि
Image of सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्ने, आजै शपथको तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीका खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका छन्।

भट्टले तोकिएको समयभित्रै नेकपा र नेकपा (एमाले)को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्। दाबी पेस गरेपछि प्रदेश प्रमुखले भट्टलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ।

नेकपाका एक सांसदका अनुसार बिहान ११ बजे नियुक्ति भएपछि दिउँसो ३ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । मुख्यमन्त्री बनेलगत्तै भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

मन्त्रालय भागबन्डा टुंगियो

नेकपा र एमालेबीच सुदूरपश्चिम सरकारमा मन्त्रालय भागबन्डा यसअघि नै टुंगिएको बताइएको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको नेतृत्व गर्नेछ।

एमालेले आर्थिक मामिला र सामाजिक विकास मन्त्रालयसहित वन वा कृषि मन्त्रालयमध्ये एकको नेतृत्व पाउने स्रोतको भनाइ छ। यसअघि असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

समर्थन फिर्तासँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। शाहले बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए। त्यसपछि प्रदेश प्रमुखलाई राजीनामा बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

भट्टको नेतृत्वमा बन्ने नयाँ सरकारलाई नेकपा र एमालेको गठबन्धनले प्रदेशसभामा आवश्यक बहुमत जुटाउने तयारी गरेको छ।